काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एनसेलको सिमकार्ड फ्याल्दा र डढाउँदा आफ्नै सम्पत्ति क्षति हुने भएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।
एनसेल प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै ज्ञापनपत्र बुझाउन गएको नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको प्रतिनिधि मण्डलसँग भएको छलफलका क्रममा सभामुख घिमिरेले सिम भाँच्ने, फ्याल्ने वा डढाउने काम नगर्न सुझाव दिएका हुन् ।
सभामुख घिमिरेले अनेरास्ववियुको आन्दोलनबारे आफ्नो कुनै टिप्पणी नरहेको बताए । तर, एनसेलको सिम फ्याल्ने, डढाउने भन्ने कुराप्रति व्यक्तिगतरुपमा आफू सहमत नरहेको स्पष्ट पारे ।
‘एनसेलको सिम फ्याल्ने, डढाउने भन्ने कुराप्रति व्यक्तिगतरुपमा म के भन्न चाहन्छु भने त्यसो गर्दा सम्पत्ति पनि क्षति भइरहेको हुन्छ,’ उनले भने, ‘छानबिन होस्, निष्कर्ष आओस् । तपाईंहरुले भौतिक क्षति नहुनेगरी कार्यक्रम गर्दा राम्रो हुन्छ । राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने विषयमा संसद र व्यक्तिगतरुपमा म सचेत छु ।’
एनले प्रतिनिधि मण्डलसँग भने, ‘एनसेल फिर्ता हुने भन्ने समाचार आएपछि मैले तत्कालै भनेको थिएँ– विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजाने होइन, थप लगानी ल्याएर अरु मुनाफा कमाउन भनेको थिएँ । लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको विषय अध्ययन गर्नुपर्ने खालको रह्यो । संसदको पनि चासो छ । संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल र निर्णयहरु भइसकेका छन् ।’
एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेकाले अनुसन्धान आवश्यक छ : सभामुख घिमिरे
FACEBOOK COMMENTS