काठमाडौं । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् ।
राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल गरेको जानकारी दिएका हुन् ।
राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समयमा पार्टीको महाधिवेशन नगरेको र विधान अनुसार हिजो (जेठ १९) गतेदेखि पार्टीले विधानिकता गुमाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरि निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा यही जेष्ठ महिनाभित्र महधिवेशन सम्पन्न गर्न सुझाव दिएको थियो । उक्त सुझाव कार्यसम्पादन एवं केन्द्रीय कार्यसमितिले पारित गर्दै केन्द्रीय कार्यसमितिको समयावधि ६ महिना थप गरेको थियो । केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएको छ ।’
उनले आफुले पटक–पटक भएका औपचारिक तथा अनौपचारिक बैठकमा दिएका सुझाव र सल्लाहलाई बेवास्ता गरिएको, वैधानिक निर्णय कार्यान्वयन नभएको र पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन् । पार्टी नेतृत्वको शैली आत्मकेन्द्रित र गैरजिम्मेवार भएको भन्दै राणाले पछिल्लो चुनावमा पार्टीको संगठनात्मक अवस्था कमजोर भएको, वैचारिक आधार प्रभावित भएको र जनसमर्थन घटेको दाबी गरेका छन् ।

उनले पार्टीभित्र विश्वासको संकट गहिरिँदा लक्ष्य हासिल गर्ने बाटो कमजोर हुने भन्दै सबै राष्ट्रवादी शक्ति, समूह र अभियानलाई एकताबद्ध भएर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आग्रह गरेका छन् ।
