काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् ।
१७ गते सम्पन्न परीक्षाको १८ गते विहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरुले आवेदन दिएका हुन् ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिए । यसै गरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गर्नुभएको खड्काले जानकारी दिए ।
केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिए । समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन ।
विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि विहान सम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
