गोरखा । गोरखा नगरपालिका–७ सतिपीपलस्थित स्थानीय चन्द्रमान र राममाया शाहीको घरबाट प्रहरीले डेढ महिना अघि बरामद गरेको चम्किलो ढुङ्गा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ ।
केहि दिन अघि खानी तथा भूगर्भ विभागको टोली गोरखामा उक्त ढुङ्गा परीक्षण गर्ने पुगेका थियो । परीक्षणपछि उक्त ढुङ्गा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको हो । विभागबाट आएकी भूगर्भविद् डा।सुस्मिता भण्डारीले उक्त ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्न पत्थर भएको बताएकी हुन् । भूगर्भविद्को टोलीले डुङ्गाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।
परीक्षण गरेको उक्त डुङ्गाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको र यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने उनीहरू बताउँछन् । प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलबाट गत असार १४ गते उक्त ढुङ्गा बरामद गरेको थियो । शाहीको घरमा रातो कपडाले बेरेर यो ढुङ्गा राखिएको थियो । शाही परिवारले पुस्तौँदेखि यो डुङ्गालाई घरभित्रै राखेर देउताका रूपमा आफूहरूले पुज्दै आएको बताएका छन्।
तर असार दोस्रो सातादेखि शाहीको घरमा मानिसको ओहोरदोहोर बाक्लिन थाल्यो । चन्द्रमान र राममायाका छोरा सुरेशले एक दिन ढुङ्गा बेरेको रातो कपडा निकालेर तस्बिर खिचेका थिए । उक्त तस्बिर र भिडियो केही समयअघि सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडियो देखेपछि सामाजिक सञ्जालमा देखेकाहरू प्रत्यक्ष रूपमा ढुङ्गा हेर्न उनको घरमा पुग्न थाले। लाखौँमा यो ढुङ्गा बिक्री गर्न मोलमोलाइ हुन थाल्यो । उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको प्रहरी टोलीले असार १४ गते सतिपिपलस्थित शाहीको घर पुगेर ढुङ्गा बरामद गरेको हो । प्रहरी, प्रशासनले पुरातत्त्व विभाग वा खानी तथा भूगर्भ विभाग लगेर ढुङ्गा परीक्षण गर्नुपर्ने बताएपछि केही विवाद समेत भएको थियो ।
उक्त विवादपछि विभागको टोलीलाई नै गोरखा बोलाएको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् डा।भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औँ नम्बरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औँ नम्बरमा पर्ने उनले बताइन्। उक्त क्वार्ज क्रिष्टल मुख्य रूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुङ्गा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ । विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र सङ्कलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
शाही परिवारले र गोरखाका स्थानीयले पनि चम्किलो डुङ्गालाई परीक्षणका लागि अन्यत्र लैजानेभन्दा पनि गोरखामै राखिनुपर्ने माग गरेका छन्। यसबीचमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी कार्यालयभित्रै गएर चम्किलो ढुङ्गा अवलोकन पनि गरिसकेका छन्। त्यस्तै बाबुराम भट्टराइले डुङ्गाको अवलोकन गरिसकेपछि सार्वजनिक अवलोकनका लागि गोरखा संग्रहालयमा राख्न उपयुक्त हुने बताएका थिए । उक्त ढुङ्गा अहिले प्रहरी कार्यालयभित्रै राख्दै आएको छ ।
कति पर्छ होला त ढंगाको मुल्येरु
अनुसूची १ ९२० मा खनिज पदार्थलाई ३ तहमा वर्गीकरण गरिएको छ। जसमा अति महत्त्वपूर्ण, महत्त्वपूर्ण तथा बहुमूल्य र सामान्य खनिज छन्। क्वार्ज क्रिष्टल महत्त्वपूर्ण तथा बहुमूल्य खनिजमा पर्छ।क्वार्ज क्रिष्टलसँगै जस्ता, चाँदी, सिसा, कोबाल्ट, निकल, टिन, टंगस्टन, म्याग्नेसाइट लगायतका खनिज पनि महत्त्वपूर्ण तथा बुहमूल्यमा पर्छन्। सामान्य खनिजमा नुन, गेरू, औद्योगिक माटो, साधारण माटो, सिलिका बालुवा, केओलिन, अभ्रख, ग्रेनाइट, बालुवा गिट्टी लगायतका खनिज पदार्थहरू पर्छन्। साधारण देखिने क्वार्ज क्रिष्टल पाँच सयदेखि १ ÷ २ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने विज्ञहरू बताउँछन्।
FACEBOOK COMMENTS