काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एसियाली विकास बैङ्क (एडीबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमासमेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताएको ऊर्जासचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको बताए ।
भेटमा एडीबीका प्रतिनिधि काउकोइसले एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए । उनले एडीबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताए ।
भेटमा मन्त्रालयका सचिव सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS