काठमाडौं । ‘तक्मे बूढा’ को रूपमा परिचित कलाकार विल्सनविक्रम राईको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘मैझारो’ मा दिया पुनको इन्ट्री भएको छ ।
गत साता चलचित्रको घोषणा गरेयता धीरज मगर, मिरुना मगर, सुनिल थापा, पुष्कर गुरुङ अनुबन्ध भएको मैझारोमा दियाको इन्ट्री भएको हो ।
निर्देशक राईले दियालाई औपचारिक रूपमा अनुबन्ध गरेका हुन् । ‘वीर विक्रम’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी दियाको पछिल्लो चलचित्र ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो । ‘मिस्टर झोले’, ‘मन्त्र’ जस्ता चलचित्रमा पनि काम गरेकी उनको नयाँ चलचित्र ‘एक्लो’ आगामी पुसमा रिलिज हुँदै छ ।
तक्मे प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा आधारित भएर बन्ने जनाइएको छ । आगामी साउन पहिलो साताबाट छायाङ्कन सुरू हुने भनिएको चलचित्रलाई पूर्वी जिल्ला इलाम र पाँचथरका रमणीय स्थानहरूमा छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको गीतमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर रहने छ । चलचित्र निर्देशक राई स्वयंले लेखेका छन् ।
FACEBOOK COMMENTS