काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको भन्दै ह्वाइट हाउसले नयाँ स्वास्थ्य प्रतिवेदन सार्वजनिक गरेको छ ।
आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ह्वाइट हाउसका चिकित्सक डाक्टर शन पी. बारबाबेलाले ट्रम्पको मुटु, फोक्सो र स्नायु प्रणालीको स्वास्थ्य बलियो रहेको बताएका छन् । प्रतिवेदनअनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि दुई तथा मुटुसम्बन्धी जोखिम न्यूनीकरणका लागि एक गरी तीन प्रकारका औषधि सेवन गरिरहेका छन् ।
गत मंगलबार वाल्टर रीड नेशनल मिल्ट्री मेडिकल सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणमा २२ जना विशेषज्ञ चिकित्सक सहभागी भएका थिए । परीक्षणका क्रममा शरीरको विस्तृत परीक्षण, मुटुको परीक्षण, क्यान्सर परीक्षण तथा अन्य रोकथामसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
प्रतिवेदनमा ट्रम्पको मानसिक तथा शारीरिक कार्यक्षमता उत्कृष्ट रहेको उल्लेख छ । नियमित बैठक, सार्वजनिक कार्यक्रम र सक्रिय जीवनशैलीले उनको समग्र स्वास्थ्यलाई सकारात्मक सहयोग पुर्याएको चिकित्सकहरूको निष्कर्ष छ ।

स्वास्थ्य प्रतिवेदनअनुसार ट्रम्पको तौल हाल करिब १०८ किलोग्राम पुगेको छ। अघिल्लो वर्ष गरिएको परीक्षणमा उनको तौल करिब १०१ किलोग्राम रहेको थियो । उनको उचाइ ६ फिट ३ इन्च रहेको जनाइएको छ। चिकित्सकहरूले तौल घटाउन, स्वस्थ खानपान अपनाउन तथा शारीरिक गतिविधि बढाउन सुझाव दिएका छन् ।

पछिल्ला केही महिनादेखि ट्रम्पका हातमा देखिएका दागबारे पनि प्रतिवेदनमा स्पष्टीकरण दिइएको छ । बारम्बार मानिससँग हात मिलाउने तथा मुटुसम्बन्धी औषधिको प्रयोगका कारण हल्का दाग देखिएको चिकित्सकहरूको भनाइ छ ।

प्रतिवेदनमा ट्रम्पको खुट्टाको तल्लो भागमा देखिएको सामान्य सुन्निने समस्या अघिल्लो वर्षको तुलनामा सुधार भएको उल्लेख गरिएको छ । यसअघि ह्वाइट हाउसले उनलाई उमेरसँग सम्बन्धित रक्तसञ्चारसम्बन्धी समस्या रहेको जानकारी दिएको थियो ।
अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति पद सम्हाल्ने नेतामध्ये एक मानिएका ट्रम्पको स्वास्थ्य अवस्थाबारे पछिल्लो समय विभिन्न चर्चा हुँदै आएको छ। यद्यपि ट्रम्प र उनका सहयोगीहरूले आफूलाई कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको दाबी गर्दै आएका छन् ।
स्वास्थ्य प्रतिवेदनमा ट्रम्पको मुटुको वास्तविक उमेर उनको जैविक उमेरभन्दा १४ वर्ष कम रहेको दाबी पनि गरिएको छ । यद्यपि केही स्वतन्त्र चिकित्सकहरूले यस्तो विवरण स्वास्थ्य प्रतिवेदनमा समावेश गरिनु असामान्य भएको टिप्पणी गरेका छन् ।
स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत सबै परीक्षणको नतिजा उत्कृष्ट आएको प्रतिक्रिया दिएका थिए । तर केही स्वास्थ्य विज्ञहरूले छ महिनामै पूर्ण स्वास्थ्य परीक्षण गरिएको दाबीमाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार सामान्यतया विस्तृत स्वास्थ्य परीक्षण वर्षमा एकपटक मात्र गरिने प्रचलन छ ।