सर्वसाधारण जनता भन्छन्, ‘भाटभटेनी, सुपरमार्केट, बिगमार्टलगायतमा सामान अत्याधिक महङ्गो छ । किन्नै सकिन्न ।’ बाहिर पन्ध्र सयदेखि दुई हजार रूपैयाँ पर्ने जुत्ता भाटभटेनीमा त्यसको दोब्बर/तेब्बर पर्ने उनीहरूको ठम्याई छ । भाटभटेनीमा लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा सबै महङ्गो छ । बजारमा त्यही सामान हजार रूपैयाँमा पाइन्छ भने भाटभटेनीमा पाँच हजार पर्न जान्छ ।
भाटभटेनीमा सामानको मूल्य घटाउन पाइँदैन । जति मूल्य लेखिएको हुन्छ, त्यति नै तिर्नुपर्छ । भाटभटेनीमा आफुखुसी सामानको मूल्य निर्धारण गरी राखिएको छ । सरकारले त्यहाँ सामानको मूल्य तोकेको छैन । सर्वसाधारण जनता भाटभटेनीमा बजारभन्दा निकै महङ्गो सामान रहनुका साथै कमसल, गुणस्तरहीन तथा म्याद सकिएको समेत बताउँछन् ।
जनतासँग पैसा नभएर हो कि भाटभटेनीको सामान महङ्गो र गुणस्तरहीन रहेको भनेर थाहा पाएर अहिले भाटभटेनीमा ग्राहक खासै जाँदैनन् । व्यापारीहरूले तबसम्म जनता ठग्छन्, जबसम्म जनताले साँचो कुरा थाहा पाउँदैनन् । भाटभटेनीको बारेमा थाहा पाएपछि मानिसहरू त्यहाँ जान छाडेका छन् ।
स्वदेशी ग्राहक एक जना पनि भाटभटेनी जाँदैनन् । विदेशीहरू भने थाहा नपाएर भाटभटेनी घुमफिर गर्न जाने र थोरै सामान किन्ने गरेको भेटिन्छ । भाटभटेनीमा पाइने सामानको तौल कम हुन्छ भनेर सबैलाई थाहा छ । त्यस्तै, म्याद सकिएको सामानमा पनि नयाँ मिति राखिएको हुन्छ ।
भाटभटेनीमा उधारोमा सामान पाइँदैन । यसले आर्थिक समस्या, बेरोजगारी, महङ्गी र गरिबीका कारण पनि भाटभटेनीमा मानिसहरू सामान किन्न जान छोडेका हुन् । बाहिर बजारमा चिनजानको आधारमा उधारोमा सामान पाइन्छ । एकातिर उधारो पाइने, अर्कोतिर गुणस्तरीय सामान पाउने हुँदा अहिले मानिसहरू आफैं घर वरपरको पसल जान्छ ।
भाटभटेनी निश्चित ठाउँमा छ । यसले गर्दा भाटभटेनी जान धेरै हिँड्नुपर्ने तथा सवारीसाधनको समेत प्रयोग हुनुपर्ने समस्या भएपछि पनि मानिसहरू सामान किन्न जाँदैनन् । बजारमा आर्थिक मन्दी छ । लत्ताकपडा, जुत्ता व्यापारीहरूले सामान मूल्य घटाइरहेका छन् । यसले भाटभटेनीमा पाँच हजार पर्ने ज्याकेट तथा जुत्ता बाहिर हजार रूपैयाँमै पाइन्छ ।
भाटभटेनीमा भन्दा बजारमा खाद्यान्न, कपडालगायत सामग्रीको मूल्य सस्तो छ । काठमाडौं उपत्यकाभित्र सञ्चालित भाटभटेनीमा ग्राहक देखिँदैनन् । भाटभटेनीमाथि विभिन्न बैंकको खर्बौँ लगानी छ । भाटभटेनीको व्यापार भने सुक्दै गएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेपश्चात् सर्वसाधारण भाटभटेनीमा सामान किन्न कम जान थालेका छन् ।
अहिले सर्वसाधारण भन्छन्, ‘ललिता निवासको जग्गा त गुरुङले छोडेनन् भने गुठी, सरकारी, मठमन्दिरलगायतका सार्वजनिक जग्गा उनले के गरे होला ? यत्तिकै उनको यत्रो सम्पत्ति भएको हो त ?’ जनता मीनबहादुर गुरुङलाई भूमाफिया पनि भन्छन् ।
यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकले दश अर्ब रूपैयाँ भन्दा बढी कर्जा लगानी गरेको तथ्यहरू बाहिर आइरहेका छन् । बैंकको ऋण तिर्नुपर्छ भनेर प्रसाईंले अहिले राजावादी भएर जनता सडकमा उतार्ने काम गरिरहेका छन् । उनी बैंक डुबाउन लागि परेका मुख्य पात्र हुन् ।
राजनीतिक आवरण दिएर आन्दोलनमा उत्रिएका प्रसाइँलाई बैंकहरूले तत्काल केही गर्न सक्ने अवस्था पनि देखिएको छैन । त्यसकारण उनकै कारण अब कतिपय बैंक डुब्छन् त कतिपय बन्द हुने खतरा सृजना भएको छ । बैंकमा भएको रकम बचतकर्ता अर्थात् आम नागरिकको हो ।
बैंकले दश करोडको धितो राखेर प्रसाईंलाई तीन अर्बसम्म कर्जा दिएको छ । भाटभटेनीलाई कर्जा लगानी गर्ने बैंकको पनि अब यही हालत हुनेछ । किनकि भाटभटेनीले कर्जा तिर्न सक्ने छैन । भाटभटेनीका साहु मीनबहादुर गुरुङले विभिन्न बैंकबाट ३८ अर्ब कर्जा लिएको सर्वसाधारण बताउँछन् । मुलुकभर २७ वटा भाटभटेनी सञ्चालनमा छन् ।
एउटा भाटभटेनी बेच्दा एक अर्ब आउँदैन । तीन वर्षअघि आनाको ६० लाख पर्ने जग्गा अहिले पाँच लाखमा बिक्री हुँदैन । दुई वर्षअघि तीन करोडमा किनेको घर अहिले ४०/४५ लाखमा बिक्दैन । किनकि मानिससँग पैसा छैन । घरजग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने कोही छैन ।
मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्प भइरहेको छ । अब बैंकले भाटभटेनीमाथि गरेको लगानी कसरी उठाउँछ ? दुर्गा प्रसाईं जसरी भाटभटेनीका साहु मीनबहादुरले पनि बैंकको ऋण तिर्दिन भनेमा भाटभटेनी बैंकले लिलाम गरे पनि कसले किन्छ ? अहिले मन्दीका कारण मानिसले लत्ताकपडा किन्न छोडिसके ।
दही, दूध, मासुको पनि निकै कम खपत गर्छन्, उपभोक्ता । त्यस्तै, होटेल, रेस्टुरेन्ट पनि कोही जाँदैनन् । उपत्यकाभित्र जताततै कोठा, सटर र फ्ल्याट खाली भएको देखिन्छ । सहकारी बचतकर्ताको रकम फिर्ता नगरी भागेको कुरा पनि यथावत् नै छ । सेयर लगानीकर्ताहरू पनि ३२ सयमा किनेको सेयर सय रूपैयाँमा समेत बिक्री नभएर रोएर बसेका छन् ।
बीस लाख रूपैयाँमा किनेको सवारीसाधन अहिले एक लाखमा बिक्री हुँदैनन् । विभिन्न संस्था, फार्महरूले पनि तलब दिन नसकेपछि कामदारलाई निकाल्नुका साथै संस्था नै बन्द गरेको पाइन्छ । सर्वसाधारण जनताले आफूसँग भएको रकम बैंकमा बचत गर्न छोडेका छन् । उल्टो बैंकमा भएको रकम निकालेर घरमा लुकाउन थालेका छन् ।
बैंकमा घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिने कोही छैन । मुलुकको राजनीति कतातिर जान्छ भनेर सबैमा अन्योल छ । हजारौं नेपाली युवा दिनहुँ खाडी उडेका छन् । उपत्यका तथा जिल्लाको सदरमुकाम बस्दै आएका पनि महङ्गी र बेरोजगारीका कारण आफ्नै गाउँघर फर्किएका छन् ।
अर्थविद्, विज्ञहरू मुलुकको अर्थतन्त्र डामाडोल भइसकेको बताउँछन् । सहकारीका कारण करोडौं बचतकर्ताको रुवाबासी भयो । कतिपय त सुकुम्बासी हुनुपर्ने अवस्थामा पुगे भने कतिपयले आत्महत्या समेत गरे । अहिले बैंकका बचतकर्ता पनि यही अवस्थामा पुग्ने सङ्केत देखा परेको छ ।
हिँजो घुसको आडमा धितो समेत नहेरी बैंकका सञ्चालकहरूले दुर्गा प्रसाईं, मीनबहादुर गुरुङजस्ता व्यक्तिलाई अर्बौँ कर्जा दिए । आज प्रसाईं बैंकको ऋण तिर्दिनँ भन्दै हिँडेका छन् । अनि यसरी बैंक डुबाउन पाइन्छ ? ललिता निवासको सरकारी जग्गा सरकारले आफ्नै नाममा ल्यायो ।
तर, त्यहाँ बैंकले लगानी गरेको दुई अर्ब ८५ करोड रकम डुबेको छ । बैंक लगभग डुबिसक्यो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । बैंकबाट कर्जा लिएका व्यवसायीहरूले किस्ता तिरेका छन् । बैंकको ऋण तिर्नुपर्छ भनेर उनीहरूले आन्दोलन समेत चर्काए । बैंकले राखेको धितो बेच्दा अहिले आउँछ एक करोड तर साँबाब्याज जोडेर उठाउनु छ तीन करोड ।
बैंकले लिलाम गरेको सेयर, घरजग्गा र गाडी किन्ने बजारमा कोही छैन । ऋणीको तीन पुस्ते पत्रिकामा निकाल्ने र कालोसूचीमा राख्नेबाहेक बैंकसँग कुनै विकल्प छैन । बचतकर्ताहरू आफ्नो रकम निकाल्न जाँदा बैंकका कर्मचारीहरू फर्काउँछन् । आफ्नै पैसा निकाल्न खोज्दा समेत बैंकका कर्मचारीहरू बचतकर्तासँग केरकार गर्छन् ।
बैंक र सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले हिजो घुसको आडमा आँखा चिम्लेर कर्जा प्रवाह गरे । एक करोड पर्ने धितोलाई घुस पाएर डेढ/दुई करोडसम्म कर्जा लगानी गरेको पाइन्छ । घुस दिन सक्नेले यसरी कर्जा लिए ।
उदाहरणका लागि दुई करोड कर्जा दिँदा बैंकले २० लाख घुस खान्थ्यो । त्यस्तै, दुई प्रतिशत सेवाशुल्क र ब्याज १८ प्रतिशत भनिएपनि ४८ प्रतिशत पर्न जान्थ्यो । सर्वसाधारणले कहिले बैंक र सहकारीबाट कर्जा पाएनन् । उनीहरू मिटरब्याजतर्फ होमिए ।
५० लाखको धितो साहुको नाममा पास गरिदिएर पाँच लाख ऋण त्यसमाथि मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज तिर्नुपर्ने । तोकिएको समय अर्थात् एक वर्षसम्म ऋण नतिरे ५० लाखको धितो पाँच लाखमा पचाइदिन्थे मीटरब्याजीहरूले । बैंकले घुसको आडमा ठूल्ठूल्ला व्यापारी तथा व्यवसायीलाई मात्र कर्जा प्रवाह गर्यो ।
ज्समा दुर्गा प्रसाईं र मीबहादुर गुरुङ पनि पर्छ । त्यसैले, अब यीनीहरूको कारण पनि अधिंकाश बैंक डुब्ने अवस्थामा पुगेको छ । करोडौं बचतकर्ताको रुवाबासी हुनेछ । सहकारीका बचतकर्ताको जस्तै हालत हुनेछ ।
अर्थमन्त्रालय र राष्ट्र बैंकले दुर्गा प्रसाईं र मीनबहादुर गुरुङलाई कस्तो धितो राखेर कति कर्जा प्रवाह गरेको छ ? त्यसको विवरण पेश गर्न बैंकलाई निर्देशन दिएको छैन । दुर्गा र मीनबहादुर त उदाहरण मात्र हुन् । यस्ता धेरै व्यापारी तथा व्यवसायी छन्, जसले गर्दा आज बैंक डुब्दै छ ।
अमेरिकालगायत अन्य मुलुकमा बैंक टाट पल्टिएझैं नेपालमा बैंक पनि डुब्ने अवस्थामा पुगिसकेको छ । सरकार र सर्वसाधारण चनाखो नभए यस्ता माफियाहरूले नराम्ररी डुबाउने छन् ।
FACEBOOK COMMENTS