काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाइँले मुलुकलाई गृहयुद्धमा जानबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका गणतन्त्रवादी दलहरूलाई आग्रह गरेका छन् ।
आज मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनले गणतन्त्रवादी र ‘राष्ट्रवादी’हरूबीचको बढ्दो तिक्तताले मुलुकलाई गृहयुद्धतर्फ धकेल्न सक्ने चिन्ता व्यक्त गर्दै राजसंस्था फर्काउने अभियानमा जुट्न सबैलाई अपिल समेत गरेका छन् ।
‘राजा ल्याउने शर्तमा सबैसँग सहकार्य गर्न हामी तयार छौँ,’ प्रसाईंले भने, ‘यो अभियानमा उहाँहरू आउनुहुन्छ भने विप्लव र केपी ओली हजुरबुबालाई पनि स्वागत गर्दछु ।’ उनले आफूहरूले राजतन्त्र नभइ राजसंस्था फर्काउने अभियान चलाइरहेको बताउँदै उनले यो अभियानमा गणतन्त्रवादी भनिएका दलहरूले सहमति नजनाए मुलुकमा गणतन्त्रवादी र राष्ट्रवादीबीच गृहयुद्ध हुनसक्ने खतरा उनले औंल्याएका छन् ।
आफूलाई तत्कालीन राजा पृथ्वीनारायण र महेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर राणासँग तुलना गर्दै उनले आफू देशकै सबैभन्दा इमानदार नागरिक भएको दाबी गरेका छन् । ‘म अत्यन्तै पवित्र मान्छे हुँ । यो देशले पृथ्वीनारायण शाह, जंगबहादुर राणा, राजा महेन्द्र र दुर्गा प्रसाइँलाई यो देशले इमानदार मान्छेको रुपमा पाएको छ,’ उनले भने, ‘म कसैसँग कहिले पनि बिक्ने मान्छे होइन ।’
राजा, राजसंस्था र हिन्दु धर्म फर्किने भएपछि जनता खुसी भएको दाबी गर्दै उनले सही समय आएपछि आफ्नो अभियानले आन्दोलन घोषणा गर्ने बताएका छन् । त्यतिबेला सबै नागरिकलाई सडकमा निस्किन पनि उनले आग्रह गरेका छन् ।
देश बनाउँछन् कि भनेर केपी ओली र प्रचण्डलाई आफ्नै घरमा लगेर चरेशको थालमा मार्सी चालमको भात खुवाएको तर उनीहरूबाट देश बन्ने छाँट नदेखिएकाले आफू राजा फर्काउने अभियानमा केन्द्रित भएको स्पष्टीकरण उनले दिएका छन् ।
FACEBOOK COMMENTS