काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ ।
आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।
शनिबार सार्बजनिक गरिएको अन्तिम नामावली अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट मा प्रकाशनसमेत गरिएको आयोगले जनाएको छ ।
वि। सं। २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ । यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

FACEBOOK COMMENTS