काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका आफ्ना कर्मचारीलाई उपचार खर्चसहित करिब २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकममा उपचार खर्च र प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसारको क्षतिपूर्ति समावेश छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर गत चैत ११ गते विद्युत् दुर्घटनामा परी घाइते भएका थिए ।
१५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए ।
प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचार तथा क्षतिपूर्तिका लागि विनियमावलीअनुसार रकम उपलब्ध गराउँदै आएको छ ।