काठमाडौं । चितवनको सौराहामा आगामी जेठ १५ देखि १७ गतेसम्म ‘इसेवा ह्याकाथन २०२६’ आयोजना हुने भएको छ ।
नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गर्न लागेको हो ।
नेपालमा नवप्रवर्तन संस्कृति विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ह्याकाथनमा देशभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाले प्रतिस्पर्धा गर्नेछन् ।
इसेवाले विगत १७ वर्षदेखि डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण तथा डिजिटल अर्थतन्त्र विस्तारका क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले नियमित सेवासँगै युवा सशक्तीकरण, प्रविधिमैत्री समाधान तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
ह्याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवामा समस्या समाधानमुखी सोच विकास गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकासमा योगदान पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

उनका अनुसार ह्याकाथनले डिजिटल प्रणाली विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधान निर्माणका लागि डेभलपर, डिजाइनर तथा इन्नोभेटरलाई एउटै मञ्चमा ल्याउनेछ ।

प्रतिस्पर्धाका क्रममा सहभागी टोलीले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन तथा डिजिटल समाधानका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । कार्यक्रम अवधिभर फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका विज्ञले सहभागीलाई प्रत्यक्ष मेन्टरसिप तथा प्राविधिक मार्गदर्शन प्रदान गर्ने व्यवस्था गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख रुपैयाँ, दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने इसेवाले जनाएको छ ।