काठमाडौं । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुवेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड ‘पार्टनर’ गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
साथै, आरामदायी यात्रा अनुभव, सुधारिएको सस्पेन्सन तथा चालक–मैत्री डिजाइनले गाडीको सञ्चालनलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उच्च सुरक्षा मापदण्ड तथा व्यावहारिक डिजाइनका कारण यी गाडीहरू सरकारी तथा संस्थागत प्रयोगका लागि उपयुक्त सवारी समाधानका रूपमा हेरिएको छ ।

यससँगै नेपाल–भारत सहयोग अन्तर्गत हालसम्म अशोक लेल्याण्डका कुल ६० वटा सवारी साधन हस्तान्तरण गरिएका छन् । यसअघि ५० वटा मालवाहक गाडी हस्तान्तरण गरिएको थियो भने हाल थप १० वटा कैदी वाहक गाडी उपलब्ध गराइएको हो ।

नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध तथा उच्च गुणस्तरका लागि चिनिने अशोक लेल्याण्डका सवारी साधनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ । आईएमई मोटर्समार्फत अशोक लेल्याण्डका हल्का व्यावसायिक सवारी साधन (एल.सी.भी.), ट्रक, टिपर तथा बसहरू नेपालभर उपलब्ध हुँदै आएका छन्, जसले विश्वसनीयता, मजबुती, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षता (माइलेज) का कारण व्यापक पहिचान बनाएको छ ।