काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्।
इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले सोमबारदेखि लागू हुने गरी शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शर्माले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी हुन्।
उनले डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा काम गरिसकेका छन्। शर्माको अनुभव र नेतृत्व क्षमताले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने, विगतका उपलब्धिलाई निरन्तरता दिने तथा डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई अझ बलियो बनाउने विश्वास सञ्चालक समितिले लिएको छ।