काठमाडौं । पछिल्लो समय विश्वभर विद्युतीय सवारी साधनको उत्पादन र प्रयोग बढ्दो क्रममा छ ।
अहिले वायुमण्डलमा तीव्र रुपमा फैलिरहेको ग्यासहरूको प्रदुषण कम गरेर पृथ्वीको बढ्दो तापक्रम घटाउन मद्दत पुग्ने हेतुले समेत संसारभर विद्युतीय सवारी सधानलाई प्रवर्द्धन र प्राथमिकता दिइँदै आएको पाइन्छ । नेपालमा समेत पछिल्लो समय विद्युतीय सवारीको चाप दिनप्रतिदिनि बढ्दै गएको छ ।
यही चापलाई आधार मानेर सरकारले आगामी सन् २०३० सम्ममा नेपालमा विद्युतीय सवारीको बजार हिस्सा ९० प्रतिशत पुग्ने प्रक्षेपण समेत गरिसकेको छ । खासगरी नेपाल सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना २०८०–२०८७ मा यहाँ बिक्री हुने निजी सवारी साधनमध्ये ९० प्रतिशत विद्युतीय माध्यम (ईभी) को हुने प्रक्षेपण गरेको हो ।
जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न जलवायु परिवर्तनसम्बन्धी महासन्धी, क्योटो अभिसन्धी र पेरिस सम्झौता कार्यान्वयनमा छन् । नेपाल यी कानुनी संयन्त्रको पक्ष राष्ट्र समेत हो । त्यसै अनुसार काम गरिरहेको सरकारको भनाइ छ ।
यसैबीच, विद्युतीय सवारी साधन (ईभी) को उत्पादन, प्रयोग र बजार बढ्दै जाँदा यसमा प्रयोग हुने ब्याट्रीको उत्पादन र खपत पनि बढिरहेको छ । सन् २०२३ को अन्त्यसम्म आउँदा विश्वभर ईभी ब्याट्रीको खपत करिब ३९ प्रतिशत अर्थात् ३८ दशमलव ६ प्रतिशतले बढेको छ ।
दक्षिण कोरियाली बजार अनुसन्धानकर्ता (एसएनई)को अनुसन्धान प्रतिवेदन अनुसार सन् २०२३ मा विश्वभर ७०५ दशमलव ५ गिगावाट आवर ब्याट्री खपत भएको छ । त्यसअघि सन् २०२२ मा ५०९ दशमलव २ गिगावाट आवर ब्याट्री खपत भएको थियो । यस अधारमा ईभी ब्याट्रीको कुल बजार हिस्सा ३८ दशमलव ६ प्रतिशतले बढेको हो ।
सन् २०२३ मा कुल ईभी ब्याट्री खपतमध्ये सीएटीएलले आफ्नो बजार हिस्सा ४० दशमलव ८ प्रतिशतले बढाएको छ । सन् २०२२ मा १८४ दशमलव ४ गिगावाट आवर ब्याट्री खपत भएकामा सन् २०२३ मा २५९ दशमलव ७ गिगावाट आवर खपत भएको प्रतिवेदनमा उल्लेख छ । सीएटीएल विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी हो । जसको प्लान्ट हंगेरीमा छ ।
समग्रमा सीएटीएलले ईभी ब्याट्रीको कुल खपतमा ३६ दशमलव ८ प्रतिशत बजार हिस्सा ओगट्न सफल भयो । सीएटीएल खपतमा मात्रै नभइ आपूर्तिकर्ता कम्पनीका रुपमा पनि पहिलो स्थानमा छ । यो कम्पनीले आपूर्तिमा ३० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
यस्तै, पछिल्लो समय निकै चर्चामा आइरहेको बीवाईडी कुल खपतको दोस्रो स्थानमा छ । सन् २०२३ मा यो कम्पनीको ब्याट्री १११ दशमलव ४ गिगावाट आवर खपत भएको छ । अघिल्लो वर्ष सन् २०२२ मा ७० दशमलव ५ गिगावाट आवर खपत भएको थियो । यसरी हेर्दा बीवाईडीले आफ्नो ब्याट्रीको खपत ५७ दशमलव ९ प्रतिशतले बढाउँदै विश्वबजारमा १५ दशमलव ८ प्रतिशत बजार हिस्सा कायम गरेको छ । अघिल्लो वर्ष बीवाईडीले १३ दशमलव ९ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।
यस्तै, तेस्रो स्थानमा दक्षिण कोरियाको एलजी इनर्जी सोलुशनले १३ दशमलव ६ प्रतिशत बजार हिस्सा कायम गरेको छ । एलजी इनर्जीले सन् २०२३ मा आफ्नो ब्याट्रीको खपत ३३ दशमलव ८ प्रतिशतले बढाएको छ । यसैगरी, जापानको पानासोनिक ६ दशमलव ४ प्रतिशतका साथ चौथो, दक्षिण कोरियाको एसके अन ४ दशमलव ९ प्रतिशतका साथ पाँचौं र चीनको सीएएलबी ४ दशमलव ७ प्रतिशतका साथ छैठौँ स्थानमा छन् ।
यसैगरी, सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत, २ दशमलव ४ प्रतिशत, २ दशमलव ३ प्रतिशत र १ दशमलव ५ प्रतिशत बजार हिस्सासहित दक्षिण कोरियाको सामसुङ एसडीआई, चीनको गोशन हाइ–टेक, इभ इनर्जी र सुनवोडा क्रमश: सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।
FACEBOOK COMMENTS