पर्सा । हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसुकै ठाउँमा प्रायः पैदलै ठमठम हिँड्दा फ्याट्ट भेटिने छरिती महिला । प्रायः सबैकी दिदी अहिले वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की ।
पदमा हुँदा होस् वा बाहिर, सदाबहार एकैनासे भेटिने शान्ति दिदी । वर्षका हिसाबले पाँच बीसभन्दा ९ मात्र कम अर्थात् ९१ वर्षकी । विवाहसमेत नगरी पार्टी जीवनमा होमिएकी सुश्री शान्ति दिदी । गणेशमान, गिरिजा, कृष्णप्रसाद भट्टराईजस्ता नेपाली कांग्रेसका स्व। नेताहट्टले पनि इमानदार कार्यकर्ता ठानेकी उनी ।
उनै शान्ति दिदीलाई नेपाली कांग्रेसले पार्टीको योगदान सम्झी गएको स्थानीय तहको निर्वाचनमा अवसर दिएको भनी बल्ल उपप्रमुख पदमा टाँसो लगाएकी तर निर्वाचनमा नगरप्रमुखभन्दा बढी भोट ल्याई निर्वाचित वीरगन्ज महानगरकी उपप्रमुख शान्ति दिदी अहिले महानगरका धेरै न्याय नपाएका पीडितहरूकी उल्टै सहारा बनेकी छन् ।
उनका धेरै बालसखा अहिले यस धर्तीमा छैनन् । बचेका पनि सबै अरूको सहारामा या लाठीको सहारामा दिनचर्या काट्दै छन् । तर, शान्ति दिदीले भने वीरगन्ज महानगरपालिकाको पहिलो न्याय सम्पादनकर्ता भई १ सय १८ मुद्दा किनारा लगाइसकेकी छन् । अन्यायमा परेर न्याय खोज्दै महानगरमा मुद्दा लिएर पुग्ने नागरिकको मुद्दा हेरी किनारा लगाउन मिल्ने फस्र्योट नै गरिदिएको उनले बताइन् ।
मुलुकमा संघीय गणतन्त्रको नयाँ संरचनामा बनेपछि हरेक पालिकाको उपप्रमुख न्याय सम्पादन कर्ता हुने नियम छ । सोही नियमको परिधिमा रही वीरगन्ज महानगरको पनि उपप्रमुख शान्ति दिदीले तत्काल इजलास नभएको समयदेखि न्याय सम्पादन गर्दै आएकी आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS