भक्तपुर । सधैं कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरू आज आइतबार फरक भूमिकामा देखिए ।
भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलको कक्षा कक्षा ४ मा अध्ययनरत १०९ जना छात्रछात्रा नियमितको पढाई छोडेर रोपाइँमा व्यस्त भएका हुन् ।
उनीहरूले स्कुल नजिकैको स्कुलकै चार आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाइँ गरेका हुन् । ट्यांकरबाट ल्याइएको पानीबाट उनीहरूले शिक्षकशिक्षिका तथा अन्य कामदारहरूको सहयोगमा धान रोपेका थिए ।
रोपाइँमा सहभागी विद्यार्थीहरूले सधै कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा आइतबार अलि फरक रूपमा धान रोप्न पाएकोमा खुसी साटे । ‘कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुसी लागेको छ,’ उनीहरूले भने । प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख बुझ्ने मौका मिलेको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले भने, ‘यसबाट धेरै कुरा सिकियो, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभव गर्न पाइयो ।’
यसअघि ती विद्यार्थीले नै रोपाइँका लागि आवश्यक धानको विउ राखेका थिए । उनीहरूले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । बीउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरूले नै गर्ने स्कुलले जनाएको छ ।
स्कुलकी शिक्षिका एवम् धान रोपाइँ कार्यक्रमकी संयोजक सुनीता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरूलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरूमा नै जानकारी गराइएको उनले सुनाइन् । धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाइँ कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।
स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराउने गर्दै आएको जनाइयो । तर यो वर्ष असार १५ शनिबार परेकोले आइतबार धान रोपाइँ कार्यक्रम गरेको स्कुलले जनायो ।
विद्यार्थीले रोपेको धान प्रत्येक वर्ष असार १५ को दिन स्कुलमा दही चिउरा खानका लागि आवश्यक मात्रामा कुटेर चिउरा बनाइन्छ । बाँंकी धान भने दानको भावना जगाउन जिल्लास्थित मुनि विहार इनाचो भक्तपुरमा रहेका भन्तेहरूलाई खुवाउन विद्यार्थी दान गर्न पुग्छन् । अहिलेको विद्यार्थीले धान सवै पसलबाट किन्ने भनेर बुझने गरेको तर होइन किसानले यसरी मिहेनत गरेर धान उव्जाउ गर्छन् भन्ने बुझाउन कार्यक्रम गरिएको स्कुलले जनायो ।
FACEBOOK COMMENTS