काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले दु:ख व्यक्त गरेको छ।
घाइते तथा अलपत्र व्यक्तिको शीघ्र उद्धार गर्दै प्रभावित क्षेत्रमा राहत प्रभावकारी बनाउन संघले आग्रह गरेको छ।
बाढीको जोखिम कायमै रहेको भन्दै सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन संघले अनुरोध गरेको छ।
नेपाल समुद्रपार निकासी पैठारी संघले त्रिशूली नदीमा बुधबार बिहान अकस्मात आएको विनाशकारी बाढीबाट रसुवाको टिमुरेदेखि तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ।
संघले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइते तथा अलपत्र परेका व्यक्तिको शीघ्र उद्धार र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

बाढीबाट सडक, पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, जलविद्युत् आयोजना र निजी तथा सार्वजनिक आवासलगायत महत्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति पुगेको संघले जनाएको छ।
संघले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकको भूमिकाको प्रशंसा गरेको छ।
बाढीको जोखिम अझै कायम रहेको सूचना आइरहेको उल्लेख गर्दै संघले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्बन्धित सरकारी निकायबाट जारी हुने सुरक्षा सूचना र निर्देशन पालना गरी सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ।
संघले विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न आफ्ना सदस्य, आमनागरिक तथा सहायता संस्थालाई अपिलसमेत गरेको छ।