काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्णजयन्तीको लोगो अनावरण गरेको छ ।
संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्णजयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजनाको तयारी गरेको छ ।
स्वर्णजयन्तीका अवसरमा वर्षभरि गरिने गतिविधिअन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा संघले उक्त लोगो अनावरण गरेको हो ।
भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराती, शाखा अधिकृत दीपकप्रसाद अधिकारी, संघका पूर्वअध्यक्ष लोकमान्य गोल्छा, अशोककुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रूपमा लोगो अनावरण गरे ।

संघका सदस्य र भन्सार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीचको अन्तरक्रिया कार्यक्रममा आयात निर्यात व्यापारका नीतिगत र प्रक्रियागत विषयसँग सम्बन्धित आयात निर्यातकर्ता व्यवसायीको चासोका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागी संघका सदस्यले व्यवसायका क्रममा सामना गर्नुपरेका चुनौती तथा अप्ठ्यारामा सम्बन्धित विभागका अधिकारीको ध्यानाकर्षण गराउँदै व्यापार सहजीकरणका निम्ति गर्नुपर्ने सुधारबारे सुझाव प्रस्तुत गरेका थिए ।
दुवै विभागका अधिकारीले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफूहरूको जिम्मेवारी व्यापार सहजीकरण र सम्बन्धित कानुन कार्यान्वयन भएको स्मरण गराए । व्यवसायीले उठाएका वास्तविक चासोलाई सम्बोधन गरिने उनीहरूले बताए ।