काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७-७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका गरगहना विभिन्न देशमा निर्यात भएका छन् ।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार एचएस कोड दिएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन शुरू भएको थियो । उक्त आवमा नै ३ देशमा त्यस बराबरको सुनका गरगहना निर्यात भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएका छन् ।
तीन मुलुकमध्ये अमेरिकामा सुनका गरगहना सबैभन्दा बढी निर्यात भएको छ । त्यहाँ गत आवमा २८ करोड ६० लाख ९६ हजार रुपैयाँको गरगहना निर्यात भएको छ । यसैगरी हङकङमा ६ करोड ७ लाख र अस्ट्रेलियामा ४ करोड ३ लाख ७८ हजार रुपैैयाँको सुनका गरगहना निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
पछिल्लोपटक आव २०७२-७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।
मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार व्यापक मात्रामा हुन सकेको छैन । त्यो अवस्थामा विदेशमा गरगहना निर्यात शुरू हुनुलाई सकारात्मक रूपमा लिइएको छ ।
पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीहरूको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनीहरूबाट नेपाली परम्परागत शैली अर्थात् डिजाइनका गरगहना माग हुने गरेको उनको भनाइ छ ।
‘उनीहरूले विदेशमा नबन्ने गरगहनाहरू माग गर्ने गरेका छन्,’ उनले भने, ‘विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहनाको माग हुने गरेको छ ।’ कतिपय व्यवसायीहरूले विदेशमा रहेका व्यवसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहनाहरू निर्यात गर्दै आएको उनले बताए । अबका दिन सुनका गरगहनाको निर्यात पनि बढ्दै जाने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS