चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आर्द्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिँउदा शरीर सुख्खा हुँदै जाने गर्दछ । चिसोको समयमा आँखा बढी सुख्खा हुन्छ । चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ । शरीरको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस इन्फेक्सन हुन्छ । जसलाई ‘आई फ्लू’ भनिन्छ । आई फ्लूलाई सरूवा रोग पनि भनिन्छ । उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ । यसैगरी चिसो मौसममा सिजनल एलर्जी (आई एलर्जी) आँखा रातो हुने, चिलाउने, बिझाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिल सुन्निने र कडा किसिमको चिप्रा आउनेसमेत हुन्छ । चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुने हुँदा कम्प्युटर भिजन सिन्ड्रम देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ ।
चिसो मौसममा मोतिबिन्दुका बिरामी बढी अस्पताल आउने गरेका छन् । चिसोमा अप्रेशन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वासका कारण योबेला डाक्टरकोमा मोतिबिन्दुका बिरामी बढी आउँछन् । चिसोले गर्दा मोतिबिन्दुका बिरामी बढी हुन्छ भन्ने होइन । हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुन सक्ने, आँखा दुख्ने, आँसु बढी आउने देखिन्छ । यसलाई फोटोकेराटाइटिस भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोक्किएर आँखामा रिफ्लेक्ट हुने भएकाले आँखामा यो समस्या ल्याउन सक्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टी रिफ्लेक्टिभ वा पोलारोइड ग्लासेस लगाउन आवश्यक छ ।
सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घरबाहिर ननिस्किँदा राम्रो हुन्छ । यदि निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चस्मा लगाउन उपयुक्त हुन्छ । आँखा धेरै नै सुख्खा भएमा डाक्टरको सल्लाहअनुसार झोल औषधि (आर्टिफिसिय टियर्स) प्रयोग गर्न सकिन्छ । त्यसभन्दा बाहेक घरभित्र बस्दा पनि धेरै समय सुख्खा हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, सुख्खा आगो वा सुख्खा हिटर पानीको प्रयोगसँगै गर्ने गर्नुपर्छ । यसका अलावा रूमलाई वाष्पीकरण गर्दा राम्रो हुन्छ ।
आई फ्लूबाट बच्नका लागि धेरै भीडभाडमा नजाने, समयसमयमा साबुनपानीले हात धोइराख्ने, हातलाई आँखामा नलैजाने गर्नुपर्छ । त्यति गर्दागर्दै पनि समस्या देखिएमा डाक्टरसँग सल्लाह गरेर आवश्यक उपचार लिन सकिन्छ । सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिइहालेमा दक्ष चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ । कम्प्युटर भिजन सिन्ड्रम हुँदा कम्प्युटर धेरै नचलाउने र चलाउनै परेमा २०-२०-२० नियम पालन गर्ने गर्नुपर्छ । उक्त नियम भनेको २० मिनेट मोबाइल वा कम्युटर चलाएपछि २० सेकेन्डका लागि कम्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो । सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने ब्लू कट चस्माको पनि प्रयोग गर्न सकिन्छ । मोतिबिन्दु देखिएको भएमा डाक्टरको आवश्यक सल्लाहमा शल्यक्रिया गर्न सकिन्छ । अत्यधिक मोबाइल र कम्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाइन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्युटरको प्रयोग गर्न दिनुहुँदैन ।
(डा. पञ्जियार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन्)
FACEBOOK COMMENTS