काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को आठ महिनामा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्म चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको हो । यो अवधिमा नेपालमा आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ ।
चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS