रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा बाढी र पहिरोले अकल्पनीय विनाश निम्त्याएको छ।
बाढी प्रभावित क्षेत्रमै खटिएका गाउँपालिकाका अध्यक्ष माधव अर्यालले खोला किनारमा ५० औँ शवहरू अलपत्र अवस्थामा रहेको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष अर्यालका अनुसार गाउँपालिकाका १ जना सूचना अधिकारीको शव पहिचान गरी दाहसंस्कार गरिएको छ भने ४ जना कर्मचारी अझै बेपत्ता छन्।
यस्तै, कार्यपालिका सदस्य ज्ञानु बिक र केही शिक्षकहरू पनि सम्पर्कविहीन छन् ।
विपद्मा परी त्रिशूली ३बी जलविद्युत आयोजना र माथिल्लो त्रिशूली १ मा कार्यरत ठुलो संख्याका नेपाली, चिनियाँ, कोरियन र भारतीय कामदारहरू बेपत्ता भएका छन्।
कैयौँ कामदारहरू सुरुङभित्रै फसेको हुनसक्ने आशङ्का गरिएको छ। यसका साथै गोसाइँकुण्ड र मानसरोवर यात्रामा रहेका तीर्थयात्रीहरू पनि ठुलो सङ्ख्यामा हराइरहेका छन्।

अध्यक्ष अर्यालले सङ्घीय सरकारको उद्धार सुस्तताप्रति कडा आक्रोश पोखेका छन्। उनले भने, “प्रधानमन्त्रीको पोस्ट पढ्दा सङ्घीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्र देखिन्छ, भुईँमा जनताले सरकारको अनुभूति गर्न पाएका छैनन्।“
गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर माग्दा कतैबाट सुनुवाइ नभएको र १० घण्टाको कठिन यात्रापछि मात्र बिरामीलाई अस्पताल पुर्याउन सकिएको उनले बताए । यस्तै, प्रहरी प्रशासनले पनि ’माथिको आदेश’ बिना शव व्यवस्थापनमा सहयोग नगरेको उनको गुनासो छ।