काठमाडौँ । इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ । स्याटेलाइट तस्वीरहरूमा कतारस्थित अल–उदीद एयर बेसमा प्याट्रियट क्षेप्यास्त्र प्रणाली स्थायी लञ्चरको सट्टा ट्रकमा राखेर तैनाथ गरिएको देखिएको छ ।
रिपोर्टका अनुसार विभिन्न सैन्य अड्डाहरूमा विमान र उपकरणको संख्या समेत बढाइएको छ । फोरेन्सिक इमेजरी विश्लेषक विलियम गुडहाइन्डका अनुसार जनवरीको तुलनामा फेब्रुअरीमा सैन्य गतिविधि तीव्र देखिएको छ । ट्रकमा राखिएका प्याट्रियट प्रणालीले आवश्यक पर्दा छिटो स्थानान्तरण र पुनःतैनाथी सम्भव बनाउने बताइएको छ ।
फेब्रुअरी १ को तस्वीरमा अल उदीद बेसमा एक आरसी-१३५ निगरानी विमान, तीन सी- १३०, १८ केसी-१३५ स्ट्राटो ट्यांकर र सात सी-१७ विमान देखिएका छन्, जुन जनवरीको मध्यतिरको तुलनामा निकै बढी हो । त्यस्तै, अधिकतम १० वटा एमईएम-१०४ प्याट्रियट प्रणाली हेमटीटी ट्रकमा तैनाथ गरिएको देखिएको छ ।
जॉर्डनको मुवाफ्फक बेसमा १७ एस- १५इ स्ट्राइक विमान, ८ ए-१० थन्डरबोल्ट, चार सी-१३० र चार हेलिकप्टर तैनाथ गरिएको छ । साउदी अरेबिया, ओमान र हिन्द महासागरस्थित डिएगो गार्सिया बेसमा समेत अमेरिकी सैन्य गतिविधि बढेको देखिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमबारे कडा चेतावनी दिँदै आवश्यक परे सैन्य कारबाही हुन सक्ने संकेत दिएका छन् । यद्यपि दुवै पक्षबीच कूटनीतिक वार्ता जारी रहेको बताइएको छ ।

इरानको रिभोल्युसनरी गार्ड्सले आफ्नो भूमिमा आक्रमण भए मध्यपूर्वस्थित कुनै पनि अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले अरब सागर र लाल सागरमा युएसएस अब्राहम लिंकन, युएसएस थियोडोर रुजवेल्टलगायत विमानवाहक पोत र मिसाइल विनाशक युद्धपोत तैनाथ गर्दै क्षेत्रीय सुरक्षा सतर्कता थप कडा बनाएको छ । यससँगै अमेरिका इरानका सम्भावित परमाणु तथा सैन्य संरचनामाथि समुद्र र आकाश दुवैतर्फबाट कारबाही गर्न सक्षम अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।


FACEBOOK COMMENTS