काठमाडौं । इजरायलतर्फ उडिरहेको फ्लाई दुबईको विमान नियन्त्रणमा लिन खोज्ने क्रममा सह–पाइलटले विमानका क्याप्टेनमाथि ‘क्र्यास एक्स’ अर्थात् आपत्कालीन अवस्थामा प्रयोग गरिने बन्चरोले आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ताले बताएका छन् ।
दुबईबाट तेल अभिभतर्फ १७० भन्दा बढी यात्रु बोकेर उडेको विमान यात्राको करिब साढे दुई घण्टापछि अचानक १७ हजार फिट (करिब ५ हजार २०० मिटर) तल झरेको थियो । त्यसक्रममा यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएका थिए ।
आक्रमणमा घाइते भएका क्याप्टेन स्मित मच्छारले आफू घाइते अवस्थामा विमानको भुइँमा लडिरहेको बेला विमान तल झरिरहेको थाहा पाएपछि अन्तिम प्रयास गर्ने निर्णय गरेको बताए । उनका अनुसार उनले ककपिटको ढोका भित्रबाट खोल्ने प्रयास गरेका थिए, जसबाट यात्रुहरू ककपिटभित्र प्रवेश गर्न सफल भएका थिए ।
त्यसपछि दुई जना रिजर्भ पाइलटले विमानलाई साउदी अरबमा सुरक्षित रूपमा अवतरण गराएका थिए ।
ककपिटमा आपत्कालीन अवस्थाका लागि सामान्यत: क्र्यास एक्स राखिने गरिन्छ । यस घटनामा प्रयोग भएको हतियारबारे अनुसन्धानकर्ताहरूले विशेष चासो देखाएका छन् । यसअघि विमानमा रहेका केही यात्रुले आक्रमणमा चक्कु प्रयोग भएको हुन सक्ने बताएका थिए ।

यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले घटनाको पूर्ण परिस्थिति, उद्देश्य तथा यससँग सम्बन्धित सम्भावित सम्बन्धबारे अनुसन्धान भइरहेको बताएका छन् । यूएईको सरकारी समाचार संस्थाअनुसार अनुसन्धानले सह–पाइलटले ‘आतंकवादी कार्य’ गर्ने प्रयास गरेको देखाएको छ ।
