काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले (प्रि–क्वालिफाइड) सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट बोलपत्र मागेको हो।
बैंकले चलनचल्तीमा आउने नयाँ १ रुपैयाँका सिक्का डिजाइन, टकमारी र आपूर्तिका लागि प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कम्पनी छनोट गर्न लागेको हो।
योग्य कम्पनीले ३ नोभेम्बर २०२६ को मध्याह्न १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे बोलपत्रदाता वा तिनका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।
बोलपत्र कागजातका लागि २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो दस्तुर तोकिएको छ। उक्त दस्तुर २ नोभेम्बर २०२६ को कार्यालय समयभित्र बैंकले तोकेको खातामा जम्मा गर्नुपर्नेछ।

राष्ट्र बैंकले चलनचल्तीमा आउने १ रुपैयाँका सिक्का ठूलो परिमाणमा उत्पादन गर्न प्रक्रिया अघि बढाएको हो। यसअघि टक्सार महाशाखाबाट विभिन्न प्रकारका सिक्का उत्पादन हुँदै आए पनि यसपटक ४० करोड थान सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्न लागिएको छ।

राष्ट्र बैंकको सूचनाअनुसार बोलपत्रमा सहभागी हुने कम्पनी पूर्वछनोट भएका सेक्युरिटी मिन्टिङ कम्पनी हुनुपर्नेछ। सिक्काको डिजाइन, टकमारी र आपूर्ति एउटै प्रक्रियाबाट गरिनेछ।