काठमाडौं । बैंकले ब्याजदर बढाएको विरोधमा उद्योगी व्यवसायीहरुले गरेको आन्दोलन स्थगित गर्ने नेपाल उद्योग वाणिज्य महासंघले निर्णय गरेको छ ।
महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
विशेषगरी महासंघ आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आन्दोलन स्थगित गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । महासंघले चालु पुँजी कर्जा मार्गदर्शन स्थगनको माग सहित आन्दोलन रोकेको छ । महासंघका अध्यक्ष शेखर खोल्छाले पनि चुनावसम्म आन्दोलन स्थगित गरिएको ट्वीटर मार्फत जानकारी गराएका छन् ।
यसरी महासंघले नै आन्दोलन स्थगित गरेको समयमा केही जिल्ला/नगर तथा वस्तुगत संघहरुले भने आन्दोलनका कार्यक्रमम जारी राखेका छन् । बिहिबार विहानै केही जिल्ला/नगर तथा बस्तुगत संघहरुले संयुक्तरुपमा आन्दोलन नै गरे । जनकपुरधाम उद्योग वाणिज्य संघकाे नेतृत्वमा २३ वटा संघहरुले बिहिबार जिल्ला प्रशासन कार्यलय र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यलय जनकपुरमा ज्ञापन पत्र बुझाए । उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत अर्थमन्त्री र राष्ट्र बैंक मार्फत गभर्नरलाइ पत्र पठाएकाे जनाएका छन् ।
यसरी महासंघको निर्णयलाई अटेर गर्दै संघले खुलेआम विरोध कार्यक्रम गरेपनि महासंघ भने माैन रहेकाे छ ।
FACEBOOK COMMENTS