काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । काठमाडौंको टेकुस्थित महासंघको सचिवालयमा बसेको बैठकमा यस्तो सहमति भएको हो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता-श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।
बैठकमा जेटीयूसीसीका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारीपत्र समीक्षा गर्नुका साथै आगामी दिनहरूमा आउन सक्ने चुनौतीहरूको द्विपक्षीय रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ बढाउँदै जानुपर्ने जरूरी रहेको बताए ।
यस्तै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरूरी रहेको बताए ।
द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई द्विपक्षीय रूपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरूरी रहेको बताए ।
महासंघकी उपाध्यक्ष एवं रोजगारदाता परिषदकी सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्यौल गरिनुपर्ने विषयमा बैठक आयोजना हुनपर्नेमा जोड दिइन् ।
साथै द्विपक्षीय रूपमा समाधान हुन सक्ने समस्याहरू सरकारमा जानुभन्दा अगाडि दुई पक्षबीच छलफल हुनुका साथै अन्तर्राष्ट्रिय अभिसन्धिहरू पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरूरी रहेको बताइन् ।
FACEBOOK COMMENTS