काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगी–व्यवसायीहरूमाथि कुनै पनि तवरबाट अपमानजन्य व्यवहार नगर्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
सोमबार आयोजित महासंघको ५६औं वार्षिक साधारणसभालाइृ सम्बोधन गर्दै उनले मुलुकमा लगानी गरी काम गर्ने वातावरण नै नबनेको तथा काम गर्नेहरू माथि पनि विभिन्न प्रकारका अपमान हुने गरेको बताएका हुन् । व्यवसायी र सरकारबीच एक आपसमा सहकार्य र साथ कायम रहनुपर्ने भन्दै उनले आफ्नो मन्तव्यको अन्तिममा निकै भावानात्मक प्रसङ्गहरू समेत जोडेका छन् ।
‘देशममा काम गर्ने वातावरण नै बन्न सकेन । आज मलाई समस्या भन्न मन लागेको छैन । समाधानको कुरा गर्न खोजिरहेको छु,’ अध्यक्ष गोल्छाले भने, ‘म फेरि पनि भन्छु– हामीसँग समाधान छ । केही समाधानका उपाय मैले माथि उल्लेख गरेँ । बाँकी समाधानका उपाय हाम्रो भिजन पेपरमा छन् । हामी एक्लै केही गर्न सक्दैनौँ । हामीलाई सबैको साथ चाहिन्छ, विशेषगरी सरकारको साथ चाहिन्छ ।’
उद्योगी–व्यवसायीका तर्फबाट भएका कतिपय अध्ययनहरू कार्यान्वयन गर्न सकेको खण्डमा पनि मुलुक आर्थिक रूपमा सबल बन्ने बताउँदै उनले भने, ‘हामीले विस्तृत अध्ययन गरेका छौँ, कार्यान्वयनमा सहकार्य गरिदिनुहोस् । हामी लगानी गर्छौँ, प्रक्रिया सहज बनाईदिनुहोस् । हामी उत्पादन गर्छौँ, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हड्ताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौँ, प्रोत्साहक गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस् ।’
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ को ५६औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०७८ को संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आज एक विशेष समारोहका बीच काठमाडौंमा उद्घाटन गरेका छन् । उद्घाटनपछि सभामुख सापकोटाले मुलुकको आर्थिक विकासको सवालमा सरकार र निजी क्षेत्र एकै रथका दुुई पाङ्ग्रा भएको बताउँदै आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोगविना सम्भव नहुने धारणा व्यक्त गरे । निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुुपर्नेमा सभामुख सापकोटाले जोड दिएका छन् ।
सो अवसरमा महासंघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS