काठमाडौं । चैतमा वाणिज्य बैंकहरूको निक्षेप डेढ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा प्रवाह भने साढे ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप ४१ खर्ब ३२ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा चैत २५ गते ४३ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकहरूको कर्जा प्रवाह भने साढे ५ अर्ब रुपैयाँले बढेको छ । फागुनसम्ममा ४१ खर्ब ७१ अर्ब ९९ करोड रहेको कर्जा प्रवाह वृद्धि भई चैत २५ गतेसम्ममा ४१ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
बैंकहरूले फागुनदेखि निक्षेपको ब्याजदर वृद्धि गरे पनि निक्षेप वृद्धि हुन सकेको छैन । तर, पहिल्यै सम्झौता भएका ससाना कर्जा प्रवाह गर्दा लगानी वृद्धि भएको हो । तरलता अभावका कारण बैंकहरूले अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्न पनि राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिँदै आएका छन् ।
सोमवार एकै दिन बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । ७ दिन अवधिको यो सापटी लिँदा बैंकहरूले वार्षिक ७ प्रतिशतका हिसाबले ब्याज तिर्नुपर्छ ।
बैंकर्स संघको तथ्यांक विश्लेषण गर्दा चैतको पहिलो, दोस्रो र तेस्रो साताको तुलनामा चौथो साता आइपुग्दा बैंकहरूको निक्षेप संकलनमा सुधार देखिएको छ । पहिलो साता ५ अर्ब रुपैयाँ निक्षेप घटेकोमा दोस्रो साता २ अर्ब र तेस्रो साता १ अर्ब रुपैयाँले वृद्धि भएको छ । चौथो साता आइपुग्दा भने ऋण लगानीको तुलनामा निक्षेप संकलन बढी छ । चौथो साता बैंकहरूले ४ अर्ब निक्षेप संकलन गर्दा २ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले तरलता समस्या क्षणिक भएको भन्दै धैर्य गर्न सरोकारवालालाई आग्रह गरेकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा सोमबार उनले भनिन्, ‘तरलताको समस्या समाधान गर्न छलफल भइरहेको छ, धेर्य गरौं, छिट्टै समाधान हुनेछ ।’
बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदरको उतारचढावले समग्र अर्थतन्त्र र सर्वसाधारणले पीडा भोग्नुपरेको भन्दै समस्या छिट्टै समाधान हुने तिम्सिनाले बताइन् । ‘समग्र बैंकिङ क्षेत्र नै तरलताको चापमा छ । बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम छैन । ब्याजदरको समेत समस्या छ,’ उनले भनिन् ‘व्यापारको पनि चक्र हुन्छ भन्ने बुझेर धैर्य हुनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’
तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको उल्लेख गर्दै यसबाट लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानता कम गर्न मद्दत गरेको बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS