काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्थानीयस्तरमा नै सरल र सहज रूपमा ऋण उपलब्ध गराउनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिएका छन् ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्ने क्रममा अध्यक्ष ढकालले उक्त विषयमा जोड् दिएका हुन् ।
उक्त भेटछवार्ताका क्रममा नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघको तर्फबाट अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।
“वैदेशिक रोजगारीमा जान चाहनेलाई ३६५ सम्म महँगो ब्याज तिर्नुपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनी ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्सजस्ता वित्तीय संस्थाहरूबाट समन्वय गरी स्थानीयस्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ,” उनले धारणा राखे ।
यससँगै, अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने जोड दिए । उनका अनुसार सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदानको ठूलो रकम जम्मा भएको छ ।
यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।
महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुनेतर्फ ध्यानाकर्षण गराए । यससँगै, औद्योगिक करिडोरमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS