काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका–५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका–२६ बस्ने चितवन भरतपुर महानगरपालिका–४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका–२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन् ।
पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र विकासले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका–३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका–४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका–२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।