काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोईराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका–२६ बस्ने तारकेश्वर नगरपालिका–६ घर भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर, भक्तपुर नगरपालिका–१५ बस्ने रामेछाप घर भएका २२ वर्षीय बिकास श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये अनन्तले फिनल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३१ लाख १५ हजार ८७ रूपैयाँ, जगतले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३९ हजार रूपैयाँ, ज्ञानुले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र बिकासले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगतलाई काठमाडौं महानगरपालिका–३ बाट बुधबार तथा अनन्तलाई काठमाडौं महानगरपालिका–२९ बाट, ज्ञानुलाई काठमाडौं महानगरपालिका–२६ बाट र बिकासलाई भक्तपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये अनन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने जगत, ज्ञानु र बिकासलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।