काठमाडौं । सवारी दुर्घटनामा परेर निधन भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्त्येष्टि गरिएको छ । शुक्रबार काठमाडौंको स्वयम्भूमा बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी भएका गृहमन्त्री सुधन गुरुङ आफैँले शव बोकेका थिए । अन्तिम श्रद्धाञ्जली दिन प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्की पनि स्वयम्भू पुगेका थिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार (वैशाख १) बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको थियो ।
लामा उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यरत थिए । आइतबार डिउटी सकेर घर फर्कंदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँमा उनी दुर्घटनामा परेका थिए । लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ख १७१५ को ट्रकले ठक्कर दिएको थियो ।
०७२ सालमा प्रहरी जवानमा भर्ना भएका लामाले पछि सहायक निरीक्षकमा नाम निकालेका थिए । त्यसपछि निरीक्षकको खुला प्रतिस्पर्धाबाट उनी इन्स्पेक्टर बनेका थिए ।
