चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ ।
करिब ५३ वर्ष उमेरको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको हो ।
पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार फेला परेकाले करेन्ट बेरिएर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।
यद्यपि मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले बताए।
निकुञ्जले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको छ। मृत हात्तीको तस्बिर तथा भिडियो खिच्न पत्रकारहरूलाई रोक्न निकुञ्जले सेना परिचालन गरेको थियो।

सौराहा–खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा परिचित रोनाल्डोको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रसँग लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार उक्त केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन्। २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ।
विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्न सक्ने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयमाझ निकै लोकप्रिय थियो। फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उसको नाम राखिएको बताइन्छ ।
अन्य हात्तीसँगको जुधाइका क्रममा रोनाल्डोको शरीरमा चोटपटकका चिन्हहरू थिए भने उसले आफ्नो पुच्छरसमेत गुमाएको थियो। रोनाल्डोको मृत्युले सौराहा(खोरसोर क्षेत्रको एउटा चर्चित र ऐतिहासिक जंगली हात्तीको अध्याय अन्त्य भएको छ।