काठमाडौं । यो साताको सुरुवातदेखि उतारचढाव देखिए पनि अन्तिममा नेप्से परिसूचक ८७ अंकभन्दा बढीले बढेको छ ।
यो अवधिमा कारोबार रकममा पनि सुधार आएको छ । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से बढेको छ भने एक दिन घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २५५९.४९ विन्दुमा बन्द भएको थियो ।
यस साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको हो । एक सातामा सेयर बजार परिसुचक (नेप्से) ८७.७३ अंकले बढेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से २५.५५ अंकले बढेको थियो । त्यसपछि मंगलबार सरकारले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि बजारमा थप उत्साह देखियो । मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको थियो ।

तर, लगातार दुई दिनको वृद्धिपछि बुधबार भने बजारमा करेक्सन देखियो । सो दिन नेप्से २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको थियो । बिहीबार नेप्से पुन: ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको नेप्से शुक्रबार २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर बजार बन्द भएको हो ।

कारोबार रकममा पनि साताको अन्त्यतिर सुधार देखिएको छ । सोमबार ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ८ अर्ब २९ करोड रुपैयाँ पुगेको थियो ।
जुन पछिल्लो दुई महिनायताकै उच्च कारोबार रकम हो । यसअघि वैशाख २ गते १० अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यसपछि यो साताको मंगलबार कारोबार रकम ८ अर्बमाथि पुगेको छ । बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको कारोबार रकम बिहीबार ५ अर्ब ४९ करोड ९३ लाख र शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
शुक्रबार ३४५ कम्पनीका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर ६४ हजार ७२ पटक किनबेच भएका छन् ।