काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सोमबारदेखि सुरु हुँदैछ ।
एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । आईसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केही उत्कृष्ट खेलाडीको इन्ट्रीले तेस्रो संस्करणको एनपीएल पहिलो र दोस्रो संस्करणको एनपीएल भन्दा विशेष हुने भएको छ । त्यसैले यसपालीको एनपीएल क्रिकेट प्रेमीहरूका लागि यो कुनै ठूलो उत्सव भन्दा कम छैन ।
एनपीएलमा नेपाली खेलाडीको चर्चा त हुन्छ नै, उत्तिकै कुन फ्रेन्चाइज टोलीले कुन–कुन विदेशी टोलीलाई अनुबन्ध गरेका छन् यो विषयले पनि महत्त्व राख्ने गर्छ ।
त्यसैले चर्चा गरौं कुन टोलीले कुन–कुन विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् । कुनै एउटा टोलीले आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।
आईसीसीको मान्यतापछि एनपीएलले तेस्रो संस्करणमा एउटा फ्रेन्चाइज टोलीले बढीमा आठ जना विदेशी खेलाडी राख्न पाइने भएको हो । यद्यपि प्लेइङ–११ मा चार विदेशी खेलाडी र कम्तीमा एक एसोसियट राष्ट्रका खेलाडी अनिवार्य हुनुपर्ने छ ।

आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडीलाई पनि टोलीमा समेट्दै प्रतिस्पर्धा गर्न तयार छन् । यसपटक एनपीएलमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड, भारतलगायत देशका अनुभवी खेलाडीहरूको इन्ट्री भएको छ । जसका कारण प्रतियोगिताको आकर्षण बढेको छ ।

विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा केही टोलीले एनपीएलमा यसअघि खेलेका खेलाडीलाई निरन्तरता दिएका छन् भने केहीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा स्थापित नामलाई पहिलोपटक एनपीएलमा भित्र्याएका छन् । जे होस्, यसपटक काठमाडौं गोर्खाजमा डेभिड वार्नर र कर्णाली याक्समा डेभिड मिलरको आगमनले विशेष चर्चा पाएको छ ।

काठमाडौं गोर्खाज

एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजले चार जना अन्तर्राष्ट्रिय खेलाडी अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर, भारतका पूर्व विकेटकिपर–ब्याट्सम्यान केएस भरत, श्रीलंकाली ब्याटिङ अलराउन्डर सहान अराचिगे र अष्ट्रेलियाका पूर्व यु–१९ कप्तान विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ ।
एनपीएलको तेस्रो संस्करणमा खेल्ने ठूला अन्तर्राष्ट्रिय नामहरूमध्ये वार्नर एक हुन् । अष्ट्रेलियाली स्टार वार्नरले आफ्नो राष्ट्रिय टोलीसँगै एकदिवसीय र टी–२० दुवै विश्वकप जितेका छन् भने इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विश्वभरका अन्य फ्रेन्चाइजी प्रतियोगिताहरू खेलेका छन् ।
वार्नर अष्ट्रेलियाका उत्कृष्ट ओपनिङ ब्याट्सम्यानहरूमध्ये एक हुन् । त्यसैले उनको अनुबन्धले नेपाली क्रिकेटप्रेमीहरूमाझ ठूलो उत्साह जगाएको छ र काठमाडौं गोर्खाजको टीमलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
करण केसी कप्तान रहेका काठमाडौं गोर्खाजमा ब्याट्सम्यान भीम सार्की, अलराउन्डर आदिल आलम र सन्तोष यादव, तथा बलर रसिद खान र साहब आलम रहेका छन् ।
विराटनगर किङ्स
पहिलो संस्करणमा दुई खेल मात्र जितेर छैठौं स्थानमा सीमित भएको विराटनगर किङ्सले पनि यसपाली अन्तर्राष्ट्रिय खेलाडी वेस्ट इन्डिजका अलराउन्डर आन्द्र रसेल, श्रीलंकाका चरिथ असलंका र पूर्व कप्तान एन्जेलो म्याथ्युजका साथै अमेरिकी अलराउन्डर शुभम रञ्जे र श्रीलंकाली–अमेरिकी ब्याट्सम्यान शेहान जयसूर्यालाई पनि अनुबन्ध गरेको छ ।
विराटनगर किंग्सबाट खेल्ने आन्द्र रसेल २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीको हिस्सा थिए । विश्वभरका क्रिकेटप्रेमीहरूद्वारा ’मसल रसेल’ को रूपमा लोकप्रिय उनी, ६११ वटा टी–२० खेलमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा ९,९३३ रन बनाएका छन् ।
ठूला सट खेल्ने रसेलको क्षमता र म्याथ्युजको अनुभवले विराटनगरको ब्याटिङ तथा अलराउन्ड विकल्पलाई बलियो बनाउन सक्ने विश्वास गरिएको छ । सन्दीप लामिछाने कप्तान रहेका विराटनगर किंग्सबाट विकेटकिपर/ब्याट्सम्यान लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी खेल्दैछन् । त्यसैगरी सुजन थपलिया, प्रितम श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दीलशाद अली, र इमरान शेख जस्ता खेलाडीहरू पनि टोलीसँग जोडिएका छन् ।
चितवन राइनोज
यसपटक चितवन राइनोजले जिम्बाब्वेका कप्तान तथा विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर सिकन्दर राजा, टी–२० क्रिकेटका अनुभवी भेटेरन अलराउन्डर रवि बोपारा, लेग स्पिनर उसामा मिर, क्यानडाका बायाँहाते तीव्र गतिका बलर कलीम सानालाई अनुबन्ध गरेको छ ।
राजाको ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने क्षमताले चितवनलाई सन्तुलित बनाउने अपेक्षा छ । बोपाराको अनुभवले पनि टोलीलाई सहयोग गर्ने आशा चितवन राइनोजका समर्थकलाई लागेको छ ।
चितवन राइनोजबाट मार्की तथा कप्तान कुशल मल्ल, देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरा खेल्दैछन् ।
अन्य खेलाडीहरूमा देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरा छन् ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले बंगलादेशका पूर्व विश्व–शीर्ष स्थानका अलराउन्डर साकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दीनका साथै श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।
हसनले अहिलेसम्म खेलेका ४८३ वटा टी–२० खेलहरूमा ७,८८४ रन बनाएका छन् र ५२१ विकेट लिएका छन् ।
पोखरा एभेन्जर्सबाट (कप्तान/मार्की) कुशल भुर्तेल, अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, अर्जुन घर्ती, विपिन आचार्य, सागर ढकाल, सुदिप अर्याल, र विवेक राना मगर खेल्दैछन् ।
कर्णाली याक्स
कर्णाली याक्सले दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका साहिबजादा फरहान, पाकिस्तानकै पहुँच तलात, र स्कटल्याण्डका मार्क वाटलाई तेस्रो संस्करणको एनपीएलमा भित्र्याएको छ ।
(कप्तान/मार्की) सोमपाल कामी, गुलशन कुमार झा, नन्दन यादव, दीपक दुम्रे, पवन सर्राफ, उनिश विक्रम सिंह, शुभ कंसकार, विपिन शर्मा, युवराज खत्री, सुरेन्द्र तामाङ, र अरिफुल इस्लाम कर्णाली याक्सलाई जिताउने प्रयास गर्नेछन् ।
सुदूरपश्चिम रोयल्स
रोयल्सले वेस्ट इन्डिजका शेर्फाने रदरफोर्ड, (न्युजिल्याण्ड) का स्कट कुग्गेलिजन, वेस्ट इन्डिजका फाबियन एलेन, स्कटल्याण्डका ब्रान्डन म्याकमुलन र इङ्गल्याण्डका सैफ जैब जस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरेको छ ।
यस समूहबाट कप्तान मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डेय, अविनाश बोहरा, हेमन्त धामी, हिकमत महरा, दीपक बोहरा, अनिल खरेल, र सचिन भट्ट खेल्नेछन् ।
जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सले इङ्गल्याण्डका दुई पटकका विश्वकप विजेता मोइन अली, न्युजिल्याण्डका अलराउन्डर जिम्मी नीशम, पाकिस्तानका अलराउन्डर इफ्तिखार अहमद र अमेरिकी अलराउन्डर हरमीत सिंहका साथै पाकिस्तानी तीव्र गतिका बलर हुनाइन शाहलाई अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्स
दोस्रो संस्करणको एनपीएल विजेता लुम्बिनी लायन्सले गत संस्करणबाट श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डार्सी सर्ट र नामिबियाका रुबेन ट्रम्पेलम्यानलाई नै निरन्तरता दिएको छ ।
त्यसैगरी बंगलादेशका अलराउन्डर शामिम हुसेन र अमेरिकी अलराउन्डर शाड्ले भान शल्कविकलाई पनि लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।
डेभिड वार्नर, डेभिड मिलर, आन्द्रे रसेल, साकिब अल हसन र मोइन अलीजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी यसपटकको प्रतियोगिताको आकर्षण बनेका छन् ।