काठमाडौं । नेपालमा विदेशी पर्यटकको अगामन १५.७ प्रतिशतले बढेको छ । गत बर्षको जनवरी महिनामा भन्दा यस बर्षको जनवरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या १५.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको जनवरीमा कुल ९२ हजार ५७३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को जनवरीमा यो संख्या ८१ हजार २७३ रहेको थियो ।
जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जनवरी महिनामा २६ हजार ६२४ जना अर्थात २८.८ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जनवरीमा चीनबाट दोस्रो धेरै ९ हजार १०१ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ जना, अस्ट्रेलियाबाट ४ हजार ९५७, बेलायतबाट ३ हजार ९७३ जना, म्यानमारबाट ३ हजार ३९६ जना, दक्षिण कोरियाबाट ३ हजार २२६ जना थाइल्याण्डबाट ३ हजार २०५ जना र भुटानबाट ३ हजार १२ पर्यटक जनवरी महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३६ हजार ३७५, एशियाका अन्य देशबाट २४ हजार १६१ जना, युरोपबाट ११ हजार ४१९ जना, अमेरिका क्षेत्रबाट ९ हजार ९५९ जना, ओसिनियाबाट ५ हजार २४७ जना जनवरी महिनामा नेपाल आएका छन् ।

FACEBOOK COMMENTS