काठमाडौं । वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ ।
‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८०’ मस्यौदामा आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्र प्रयोग गरेबापत समान भौगोलिक अवस्था भएको ठाउँको जग्गा सट्टाभर्ना गर्न सक्ने प्रावधान राखिएको छ ।
निजी कम्पनीहरूले आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्रको जग्गा चलाउन पाउने र त्यसबापत समान भौगोलिक क्षेत्रमा रहेको जग्गा सट्टाभर्ना गर्न सक्ने मस्यौदामा उल्लेख छ । विज्ञहरूले प्रस्तावित मस्यौदा पारित भए संरक्षित क्षेत्र निजी कम्पनीले हात पार्ने, सट्टाभर्नाका नाममा अनुत्पादक जग्गाको दायित्व सरकारमा आउन सक्ने र संरक्षित क्षेत्र जोखिममा पर्ने भन्दै चिन्ता प्रकट गरेका छन् । हाल देशभरि २० वटा संरक्षित क्षेत्र छन् । जसमध्ये १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा सिकार आरक्षण र ६ वटा संरक्षण क्षेत्र छन् ।
मन्त्रालयले उक्त मस्यौदा वेबसाइटमा राखेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सबै पक्षबाट सुझाव माग्न मस्यौदा वेबसाइटमा राखिएको बताए । ‘मस्यौदा पढेर थुप्रै सुझाव आएका छन् । सुझाव निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा गठित कार्यदलसमक्ष पेस गर्नेछौं,’ उनले भने, ‘त्यसपछि कार्यदलले अन्तिम मस्यौदा तयार गर्नेछ ।’ अन्तिम मस्यौदा तयार भएपछि सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइनेछ । सहमति प्राप्त भए मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पास गरी कार्यान्वयनमा लगिने ढुंगानाले बताए ।
यसअघि सरकारले २०६५ सालमा संरक्षण क्षेत्रभित्र भौतिक संरचना निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउको थियो । विद्यमान कार्यविधिमा संरक्षित क्षेत्रभित्र भौतिक संरचना बनाउन पूरा गर्नुपर्ने कानुनी प्रक्रिया कठिन र लामो छ ।
वनमन्त्री वीरेन्द्र महतोको चाहनामा नयाँ कार्यविधि बनाएर संरक्षित क्षेत्रभित्र भौतिक संरचना निर्माण प्रक्रिया खुकुलो पार्न लागिएको हो । मन्त्रालय स्रोतले भन्यो, ‘कार्यविधि पास भयो भने संरक्षित क्षेत्रभित्र निजी क्षेत्रलाई प्रवेश गर्न निकै सजिलो हुनेछ ।’
नयाँ कार्यविधिमा प्रस्तावित प्रावधानले संरक्षित क्षेत्रभित्रको जैविक विविधतामा समेत असर पार्न सक्ने आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS