काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई एकताबद्ध गराएर अघि बढ्न अपिल गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताए ।
आयोगको निर्णयलाई उनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलका रूपमा व्याख्या गरे ।
थापाले पार्टी अब नेताको चाहनाले मात्र नभई आम सदस्यको चाहनाले चल्ने बताए ।
उनले कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरे । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई यो विषयलाई जित–हारको रूपमा नलिई संयमित र जिम्मेवार बन्न आग्रह गरे ।

यस्तो छ थापाले जारी गरेको विज्ञप्तिः

नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।

यो नेपाली कांग्रेसका हामी सदस्यहरू र सुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो । यसले स्थापित गरेको छ पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।

विशेष महाधिवेशनमा सहभागी हुनुभएका नहुनुभएका सहमत हुनुभएका । नहुनुभएका सवै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पुर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु । यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन । कुनै अलमल नपरौ, सवै संयम होऔ, जिम्मेवार बनौ, एकतावद्ध रहौ । विश्वास र भरोसा राख्नुहोस्स अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ । अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं । आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन । जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो । यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौ सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौ । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छः आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ । अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।
अतः समस्त सुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ । नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ । एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौ । अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ुसत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ । जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ । यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ ।
अन्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौ, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौ, समस्त नवयुवा लगायत आम नेपाली आमावुवा, दाजुभाइ दिदी बहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन हार्दिक अपील गर्दछौ ।
जय नेपाल ।
तपाईंको सभापति
गगनकुमार थापा
FACEBOOK COMMENTS