काठमाडौँ । इजरायलले गाजा पट्टीको ७७ प्रतिशत भागमाथि नियन्त्रण प्राप्त गरेको छ ।
अल जजीराको रिपोर्ट अनुसार, यो दाबी गाजाको सरकारी मिडिया कार्यालयले आइतबार गरेको हो ।
गाजाले इजरायलमाथि नरसंहारको आरोप लगाउदै संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायबाट तत्काल हस्तक्षेपको माग गरेको छ । गाजाको सरकारले इजरायली सेनाले बफर जोन, सुरक्षा करिडोर र भारी गोलाबारी मार्फत गाजाको उत्तरी र दक्षिणी भागहरू कब्जा गरेको जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार इजरायलले नेत्जारिम करिडोर मार्फत गाजालाई दुई भागमा विभाजन गरेको छ, जसले गर्दा प्यालेस्टिनी नागरिकहरूको आवतजावत लगभग असम्भव भएको छ । इजरायलले रफाह र गाजा शहर जस्ता घना बस्ती भएका क्षेत्रहरूलाई ‘नो-गो जोन’ घोषणा गरेको र लाखौं मानिसहरूलाई विस्थापित गरेको बताएको छ ।
नेत्जारिम करिडोरले गाजालाई दुई भागमा विभाजन गर्दछ । यस वर्षको सुरुमा इजरायल र हमासबीच युद्धविराम सम्झौता हुँदा, इजरायलले नेत्जारिम करिडोर छोडेको थियो । तर केही समयपछि इजरायलले फेरि युद्ध सुरु गर्यो र फेरि यो करिडोर आफ्नो नियन्त्रणमा लिएको थियो ।
इजरायली सेनाले जबरजस्ती निष्कासन, बमबारी र सहायता अवरुद्ध गरेर गाजालाई ध्वस्त पारिरहेको आरोप छ ।
रिपोर्ट अनुसार गाजाको ७० प्रतिशत भन्दा बढी नागरिक पूर्वाधार ध्वस्त भएको र १९ लाख मानिसहरू (जनसंख्याको ८५ प्रतिशत) आफ्नो घरबाट विस्थापित भएको दाबी गरेको छ ।
इजरायली अधिकारीहरूले यी आरोपहरूलाई अस्वीकार गरेका छन् । गाजामा आफ्नो कारबाहीलाई हमासविरुद्ध ‘लक्षित अपरेशन’ भएको बताएको छ । इजरायलले हमासले जानाजानी नागरिक क्षेत्रहरूमा सैन्य पूर्वाधार स्थापना गरेका कारण नागरिक हताहत बढेको बताउँदै आएको छ ।
इजरायलले आतंकवादी संगठन हमासलाई समाप्त पार्ने उद्देश्यले आक्रमण भइरहेको बताएको छ ।
संयुक्त राष्ट्र संघ र मानव अधिकार संगठनहरूले गाजामा मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका छन्। युनिसेफ र विश्व खाद्य कार्यक्रमले गाजाका ९६ प्रतिशत बालबालिका कुपोषित रहेको र अनिकालको जोखिम बढ्दै गएको चेतावनी दिएको थियो ।
७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल-हमास युद्धमा हालसम्म ५५,००० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्, जसमा हजारौं बालबालिका, महिला र वृद्धवृद्धाहरू समावेश छन् ।
FACEBOOK COMMENTS