काठमाडौं । गरिमा विकास बैंकले अस्ति आइतबार हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्त्व राख्ने वर र पीपलका बिरुवाहरू रोपेको छ ।
कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौंकालिका मन्दिर परिसर, शीतलटार पार्क चापाकोट र छायाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ जिल्लाको मोतीपुर पुल क्षेत्रमा वर र पीपलका बिरुवा रोपिएको हो ।
कार्यक्रममा बैंकका अध्यक्ष, पूर्वअध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, बैंकका कर्मचारी, शेयरधनीहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।
यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवर्द्धका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
वृक्षरोपण गरिएको क्षेत्रलाई आगामी दिनमा वर–पीपल चौतारीको रूपमा विकास तथा संरक्षण गर्ने बैंकको लक्ष्य छ । बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
FACEBOOK COMMENTS