काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस–२०८२ को दोस्रो संस्करण आगामी मंसिर ६ गते, शनिबार आयोजना गर्न लागेको छ ।
गत वर्षदेखि सुरु गरिएको यो प्रतिस्पर्धामा यसपटक पनि तीन विधा(खुला (महिला र पुरुष), कर्पोरेट (महिला र पुरुष) र नयाँ थपिएको भेट्रान (महिला र पुरुष)राखिएको छ। खुलातर्फ १० किलोमिटर दूरी तय गर्नुपर्नेछ भने कर्पोरेट र भेट्रान दुवै समूहका प्रतियोगीहरूले ५ किलोमिटर दौड प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष खुला र कर्पोरेट विधासम्म सीमित रहेको प्रतियोगितामा यस वर्ष ४५ वर्षमाथिका महिला र ५० वर्षमाथिका पुरुषहरूलाई समेत सहभागी गराउने उद्देश्यले भेट्रान वर्ग थपिएको हो। आयोजकका अनुसार यसपटक करीब १,००० जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
पुरस्कार राशिमा पनि आकर्षक व्यवस्था गरिएको छ। खुला तर्फका विजेताले जनही रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,००० र पाँचौंले रु. १०,००० प्राप्त गर्नेछन्। त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,००० र पाँचौंले रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।
रोड रेसको खुला वर्ग बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ कार्यालय भवन पुगेर सोही बाटो हुँदै पुन: बालुवाटारमै समापन हुनेछ। कर्पोरेट र भेट्रान वर्गको दौड भने सोही स्थानबाट सुरु भई न्युरो अस्पताल, बाँसबारी पुगेर पुन: बालुवाटारमै समाप्त हुनेछ ।

प्रतियोगितालाई व्यवस्थित र डिजिटल बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।

गत वर्षको पहिलो संस्करणमा ६५० जना प्रतिस्पर्धी, जसमा ओलम्पिक धाविका सन्तोषी श्रेष्ठ समेत सहभागी थिइन्। यस वर्ष त्यसभन्दा अझ बढी धावकहरूको सहभागिता रहनेमा गरिमा विकास बैंकले विश्वास व्यक्त गरेको छ ।

FACEBOOK COMMENTS