गरिमा विकास बैंकद्वारा १८औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘गरिमा रोड रेस कम्पिटिशन’ सम्पन्न
कर्पोरट खबर
11:59 am, आइतबार, मंसिर ९, २०८१
काठमाडाैं । ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘गरिमा रोड रेस कम्पिटिशन-२०८१’ सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिताका प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेस कम्पिटिशनको खुल्लातर्फ महिला र पुरूष तथा कर्पोरेटतर्फ महिला र पुरूष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।
खुल्लातर्फको १० किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरू भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बूढानीलकण्ठ नगरपालिकाको गणेश चोकमा पुगी पुनः लाजिम्पाट आएर समापन हुने गरी रूट तय गरिएको थियो ।
यस्तै, कर्पोरेटतर्फको ५ किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरू भई नारायणगोपाल चोक पुगी पुनः लाजिम्पाट आएर समापन हुने गरी रूट तय गरिएको थियो ।
६५० जनाभन्दा बढी धावकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रूपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वस्थ जीवनशैली निर्माणमा निकै महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ किमि र १० किमि दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता भएको बताए ।
साथै, विकास बैंकले कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न ‘साफ वुमन्स च्याम्पियनसिप-२०२४’ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टिमविरूद्ध गर्ने प्रतिगोल १ लाख रूपैयाँका दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरेकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख रूपैयाँ नगद पुरस्कारसमेत शनिबार आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ, राष्ट्रिय महिला फुटबल टिमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूसमेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS