काठमाडौं । राष्ट्रिय तहको भन्दा तीन वटा प्रदेशको आर्थिक वृद्धिदर बढी देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो बुधबार सार्वजनिक गरेको प्रदेशगत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले उक्त कुरा देखाएको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदरभन्दा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको वृद्धिदर धेरै हुने तथ्याङ्क कार्यालयको प्रतिवेदनले उजागर गरेको छ ।
उपभोक्ता मूल्यका आधारमा गण्डकीको ४.५५, लुम्बिनीको ४.०५ र बागमतीको ३.९६ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । तर, राष्ट्रिय अर्थतन्त्रको वृद्धिदर ३.८७ प्रतिशतमात्र रहेको यो भन्दा अघि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यालयका अनुसार प्रदेशगत रूपमा गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत हुने अनुमान छ । यसपछि लुम्बिनीको ४.०५ प्रतिशत छ । सबैभन्दा थोरै ३.३९ प्रतिशतको वृद्धिदर कर्णाली प्रदेशमा हुने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशमा आर्थिक गतिविधि बढी भएकोले आर्थिक वृद्धिदर पनि बढी देखिने प्रारम्भिक अनुमान गरेको बताएका छन् ।
औद्योगिक वर्गीकरण अनुसार बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । चालु आवमा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको छ । बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन सम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको छ ।
अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशत
चालु आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशतले हुने अनुमान गरिएको छ । आधारभूत मूल्यमा यसको विस्तार ३.५४ प्रतिशतले हुने अनुमान छ । केही दिनअघि सार्वजनिक गरेको गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर गत वर्ष १.९५ प्रतिशत हुने संशोधित अनुमान छ भने त्यसअघिको आव २०७८–७९ मा ५.६३ प्रतिशत भएको देखिएको छ ।
यसैगरी आधारभूत मूल्यबाट अर्थतन्त्रको विस्तारलाई हेर्दा गत आवमा २.३१ प्रतिशत हुने संशोधित अनुमान छ । आव २०७८–७९ मा ५.२८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिएको छ । कार्यालयले आर्थिक वृद्धिदरको यो अनुमान आर्थिक वर्ष २०६७–६८ को आधारभूत मूल्यमा आधारित रहेर गरेको हो । मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा मापन गर्दा निस्केको अर्थतन्त्रको आकार हो । आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ५० खर्ब ५० अर्ब रूपैयाँ पुग्ने देखिएको छ । गत आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रूपैयाँ रहने संशोधित अनुमान छ ।
यसैगरी आव २०७८–७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ । यो अन्तिम विवरण हो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत हुने अनुमान छ । गत आवमा भने कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७८–७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम भएको देखिएको छ ।
कार्यालयले समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गर्दै आएको छ । त्यसअनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान छ भने द्वितीय क्षेत्रको वृद्धिदर १.२० प्रतिशतमा खुम्चिने अनुमान छ । यस्तै सेवा क्षेत्रको आकार भने ४.५० प्रतिशतले बढ्ने अनुमान कार्यालयको छ ।
गत आवको संशोधित विवरणअनुसार यी तीनै प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७२ प्रतिशत, १.४० प्रतिशत र २.३६ प्रतिशत रहने अनुमान छ । त्यसअघिको वर्षको अन्तिम विवरणअनुसार प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.५० प्रतिशत, १०.७९ प्रतिशत र ५.३२ प्रतिशत कायम भएको छ ।
चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४.६ प्रतिशत, १२.५ प्रतिशत र ६२.९ प्रतिशत योगदान दिने अनुमान छ । गत वर्ष यस्तो योगदान क्रमशः २४.४ प्रतिशत, १३.१ प्रतिशत र ६२.५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।
यसैगरी, आव २०७८–७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.० प्रतिशत, १३.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । यो तथ्याङ्कअनुसार कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र र सेवा क्षेत्रको योगदान गत आवको तुलनामा केही बढेको देखिन्छ भने द्वितीय क्षेत्रको योगदानमा घटेको छ । कार्यालयले वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई १८ मुख्य क्रियाकलापमा वर्गीकरण गरेर विवरण तयार पारेको छ ।
घरजग्गा कारोबार
यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने अनुमान छ । घरजग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।
गत आवमा यो क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर १.७२ प्रतिशत देखिएको छ । कार्यालयका अनुसार यो वर्ष प्रतिव्यक्ति आय (जीएनआईका आधारमा) १,४५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष यस्तो आय १,४०५ डलर हुने संशोधित अनुमान छ भने आव २०७८–७९ मा यस्तो आय १,४१९ डलर थियो ।
FACEBOOK COMMENTS