काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह गर्दै संघले भुक्तानीमा कुनै ढिलाई नगरिने समेत स्पष्ट गरेको छ ।
आज शुक्रबार विज्ञप्ति जारी गरी संघले वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको उल्लेख गरेको छ । बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याइने संघका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
संघले बीमा कम्पनीहरूलाई यस सङ्कटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको पनि बताएका छन् । संघका अध्यक्ष मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गर्दै बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको बताएका छन् ।
२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्लको भनाइ छ । संघले विज्ञप्तिमार्फत देशभर भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षा निकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको संघले गहिरो दु:ख व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS