काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आज शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
आगामी मंगलबार अर्थात् यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गर्दैछ ।
काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित एक हजार ५०० भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।
वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरू परिक्रमा गरेका थिए ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा तीन वटा अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत छन् भने करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS