काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी नियुक्त भएका छन् ।
कलेजको बोर्ड अफ डाइरेक्टरहरूको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा अन्सारीलाई नियुक्त गरिएको हो । वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।
नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई हिजो शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्राडा प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेश किशोर श्रेष्ठ, प्राडा मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।
नवनियुक्त प्रबन्ध निर्देशक अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पूरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफू २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।


त्यस अवसरमा कलेजका अध्यक्ष डा. भोला रिजालले कुशल शल्यचिकित्सक समेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा. अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए । कलेजमा कार्यरत कसैलाई काखा कसैलाई पाखा नगरी एकसाथ लिएर अगाडी बढे सबैले साथ दिने बताए । कार्यक्रममा संघीय सांसदद्वय अच्युत प्रसाद मैनाली, प्रभू हजराले समेत शुभकामना दिएका थिए ।