काठमाडौं । केपी ओली नेतृत्वको तत्कालीन सरकार ढालेर गठबन्धनको सरकार बनाउन सहयोग गरेका एक जना अधिवक्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री उपहार दिएका छन् ।
प्रधानमन्त्री देउबाले संविधानको धारा ७६ को ५ बमोजिम गठबन्धनको सरकार निर्माण गर्न सघाएका अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री नियुक्त भएका अधिवक्ता बन्दी गैरसांसद समेत हुन् । उनले आजै दिउँसो २ बजे पद तथा गोपनीयताको सपथग्रहणसँगै पदवहाली गर्ने भएका छन् । मन्त्री नियुक्त भएका बन्दीले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गठबन्धनका तर्फबाट बहस गरेका थिए । त्यही सहयोगको बदलामा उनलाई मन्त्री पद उपहार मिलेको हो ।
बन्दी माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ हुन् । उनी नेकपा एसको गठनलगत्तै बनेको केन्द्रीय कमिटी सदस्य समेत थिए तर पछि उनको नाम हटाइएको थियो ।
देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर, चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS