काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरूले बताएका छन् ।
महासंघको हिजो शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेपविरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई सुझाव दिएको हो ।
विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरूको बुझाइ छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनु पर्नेमा विज्ञहरूको जोड थियो ।
यता, महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गरेका छन् । ऐन कानुन नभएकाले बैध र अबैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अबैध व्यपारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताए ।
मुलुकभर २३ हजार भन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उनले राज्यले यसलाई विलाशिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गरे । उनले भने, ‘राज्यले सुनलाई विलाशिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ ।’
त्यस्तै, नेपालमा १० हजार भन्दा बढी दक्ष कालीगढ रहेको भन्दै उनीहरूलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएको बैठकमा उपस्थित विज्ञहरूले औँल्याएका छन् ।
FACEBOOK COMMENTS